रासायनीक ग्यास फैलँदा …
काठमाडौं,२३ वैशाख । भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी आज अस्पताल भर्ना भएका छन् । विद्यालयमा पढाइ भइरहेकाबेला रासायनीक ग्यास फैलिएर बिरामी भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । विषाक्त ग्यासका कारण विद्यार्थीको आँखा, घाटीलगायतका अंगमा नकारात्मक असर परेर अफ्ठ्यारो भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
नयाँदिल्लीमा रहेको एक विद्यालयनजिकैको उद्योगका लागि ल्याइएको ग्यास अकस्मात् चुहिएको प्रहरीको भनाइ छ । ‘झन्डै २०० जना बालबालिका नजिकैका चारओटा अस्पतालमा भर्ना भएका छन्, गम्भीर तथा सिकिस्त बिरामी त कोही पनि छैनन्, सबै सामान्य अवस्थामा छन्,’ एकजना प्रहरी उपप्रमुख रोमिल बानियाले पत्रकारसँग भने । उनले ग्यास चुहावटकाबारेमा अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको पनि बताए ।भारतमा ग्यास चुहावटका घटना असामान्य होइन । यसअघि, सन् २०१४ मा छत्तीसगढमा रहेको एउटा स्टील कारखानामा ग्यास चुहावट हुँदा ६ जनाको मृत्यु भएको थियो । (रासस-सिन्ह्वा-एएफपी )