राष्ट्र संघद्वारा यमन पूर्ण पतनको अवस्थामा पुगेको निष्कर्ष
काठमाडौं, १७ जेठ । संयुक्त राष्ट्र संघले लामो समयदेखि भइरहेको द्वन्द्वका कारण यमन सामाजिक, आर्थिक तथा संस्थागत रुपले पूर्ण पतनको अवस्थामा पुगेका निष्कर्ष निकालेको छ । राष्ट्र संघले यमनलाई पतनको अवस्थाबाट मुक्त गर्न तत्काल सहयोग र प्रभावकारी कामको खाँचो रहेकोसमेत जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायता संयोजक स्टिफन ओ ब्रिएनले राष्ट्रसंघ सुरक्षा परिषद्सँग कुरा गर्दै यमनमा तत्काल प्रभावकारी काम नगर्ने हो भने पूर्ण पतन भएर जाने जानकारी दिएका हुन् । यमनमा मानवीय संकटको अवस्था भयावह बन्दै गएको र ७० लाख मानिस भोकमरीको चपेटामा रहेको राष्ट्र संघले जनाएको छ ।
राष्ट्र संघले यमनका नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको बताएको छ । हैजाको प्रकोप फैलिएको र त्यसका कारण ५ सय जना मानिसको ज्यान गएको तथा अर्को ६ महिनाभित्र यो संख्या बढेर १ लाख ५० हजार पुग्न सक्ने खतरा रहेको राष्ट्रसंघको भनाई छ ।
यमनलाई अहिलेको मानवीय संकटको अवस्थाबाट बाहिर ल्याउन २ अर्ब १० करोड अमेरिकी डलर सहयोगको आवश्यकता रहेकोमा २४ प्रतिशतमा मात्रै जुटेको छ ।
राष्ट्र संघले यमनको समस्या समाधानका लागि एकीकृत प्रयास गर्न विश्वका शक्ति राष्ट्र तथा समुदायसँग आग्रह गरेको छ । सन् २०१५ को मार्चमा यमनमा द्वन्द्व सुरु भएयता अहिलेसम्म ८ हजार भन्दा बढीको ज्यान गएको छ । यमनका अहिले १ करोड ८८ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताइएको छ । – एजेन्सी