ब्रिटेनमा गठबन्धन सरकार बनाउन कसरत
काठमाडौं , २७ जेठ । ब्रिटेनमा मध्यावधी निर्वाचन गराएर बहुमत गुमाएकी प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्याण्ड केन्द्रित डेमोक्रेटिक युनियनिष्ट पार्टीको सहायतामा सरकार बनाउने भएकी छन् । हालैसम्पन्न संसदको निर्वाचनमा बहुमतका लागि ८ सीट नपुगेपछि मेले डेमोक्रेटिक युनियनिष्टको सहयोगमा नयाँ सरकार बनाउन लागेकी हुन् । सरकार बनाउने जनादेश आफ्नो दललाई मात्र भएको भन्दै उनले स्थिर सरकार निर्माणमा आफ्नो पूर्ण जोड रहने बताइन् ।
बकिंघम दरबारमा महारानीलाई निर्वाचन परिणामको जानकारी गराएपछि संवाददाताहरुसँग उनले परिणाम सोचेजस्तो नआएको र सीट गुमाउन पुगेकाहरुप्रति माफी पनि मागिन् । तर विपक्षी लेबर पार्टीले भने आफूहरु नै वास्तविक विजेता रहेको तर्क गरेको छ ।
विपक्षी लेबर दलका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्रीको राजिनामा माग गर्दै सत्ता चलाउन आफू तयार रहेको बताएका छन् । ६ सय ५० सदस्यीय हाउस अफ कमन्समा सत्तारुढ कञ्जरभेटिभले ३ सय १८ सीटमात्र जितेको छ । स्पष्ट बहुमतका लागि ३२६ सीट जरुरी पर्नेमा उसलाई ८ सीटको कमी भएको हो ।
अघिल्लो संसदमा भन्दा उसले १० सीट गुमाएको छ भने विपक्षी लेबर पार्टीले ३२ सीट थप गर्दै २ सय ६२ सीटमा जितेको छ । यस्तै स्कटिस नेशनल पार्टीले पनि १९ सीट गुमाउँदै २५ सदस्यमा खुम्चिएको छ भने अरु पार्टी र स्वतन्त्रले ३५ सीट जितेका छन् ।
यूरोपियन यूनियनबाट बाहिरिने÷नबाहिरिने विषयमा भएको जनमत संग्रहमा बाहिरिने पक्षमा नतिजा आएपछि कन्जरभेटिभ पार्टीका प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएका थिए । त्यसपछि सोही पार्टीबाटै थेरेसा मे नयाँ प्रधानमन्त्री बनेकी हुन् ।
संसदको कार्यकाल तीन बर्ष बाँकी रहँदै प्रधानमन्त्री मेले निर्वाचन गराएकी हुन् । – एजेन्सी