राष्ट्रिय परिषदमा आक्रमण
काठमाडौं, २२ असार । भेनेजुयलामा विपक्षीहरुको बहुमत रहेको राष्ट्रिय परिषद्मा सरकार समर्थकहरुले घुसपैठ गरी हंगामा मच्चाएका छन् । त्यस क्रममा केही सांसद र पत्रकार घाइते भएका छन् । स्वतन्त्रता दिवसका अवसर पारेर राष्ट्रिय परिषद्को विशेष सत्रपछि सरकार समर्थकहरु प्रवेश गरी हंगामा मच्चाएका हुन् ।
परिषद्को परिसरमा लाठीसहित प्रवेश गरेका प्रदर्शनकारीले सांसद र पत्रकारहरुमाथि कुटपिट गरेका हुन् । त्यस क्रममा केही सांसदलाई गम्भीर चोट लागेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमहरुले आक्रमणमा विपक्षी दलका उपनेता अमेरिको डे ग्राजियासहित आठ जना घाइते भएको जनाएका छन् ।
स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति निकोला मादुरोले राजधानी काराकासमा भएका कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रिय परिषद्मा हिंसात्मक आक्रमण भएको हो । राष्ट्रपति मादुरोले हिंसाको निन्दा गरेका छन् । भेनेजुएलामा आर्थिक संकट गहिरिँदै गएको छ । विपक्षीहरुले राष्ट्रपतिले मुलुकको अर्थतन्त्रमा खेलवाड गरेको र लोकतान्त्रिक संस्थालाई कमजोर पारेको आरोप लगाउँदै आएका छन् । भेनेजुयलामा तीन महिनादेखि सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । प्रदर्शनका क्रममा अहिलेसम्म ९० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । – एजेन्सी