अमेरिका पेरिस सम्झौताबाट अलग हुने

२०७४ श्रावण २१ गते, शनिबार

काठमाडौं, २१ साउन । ह्वाइट हाउसले संयुक्त राष्ट्रसंघलाई आफू जलवायु परिवर्तन सम्बन्धी प्यारिस सम्झौताबाट अलग हुने जानकारी दिएको छ । राष्ट्रपति ट्रम्पले गएको जुनमा गरेको निर्णय कार्यन्वयन गर्न लागिएको वासिङटनले राष्ट्रसंघलाई जानकारी दिएको हो । तर अमेरिकी विदेश मन्त्रालयले बहिर्गमन प्रकिया पुरा नहुन्जेलसम्म अमेरिका जलवायु परिवर्तन सम्बन्धी बैठकहरुमा सहभागी हुने बताएको छ ।
राष्ट्रपति ट्रम्पले प्यारिस सम्झौताले अमेरिकालाई खर्बौं डलरको नोक्सानी हुने, रोजगारी गुम्ने र देशभित्रका उर्जा तथा उत्पादनसम्बन्धी उद्योगहरुमा क्षति पुग्ने बताएका छन् ।
हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने लक्ष्य सहित २०० वटा देशले हस्ताक्षर गरेको प्यारिस सम्झौताले अमेरिकालाई घाटा पुर्याउने सन्देश राष्ट्रसंघलाई पठाइएको पत्रमा उल्लेख छ । सूचनामा ट्रम्प प्रशासनले प्यारिस सम्झौताबारे परिमार्जनका लागि वार्ताहरु गर्न आफू खुला रहेको जनाएको छ ।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले केही समय पहिले प्यारिस गएका ट्रम्पलाई जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा कायम रहन आफूले मनाएको विश्वास व्यक्त गरेका थिए । प्यारिस सम्झौता परिमार्जनबारे ट्रम्पले राखेका प्रस्ताव विश्व नेताहरुले अस्वीकार गरिसकेका छन । अमेरिकाले सन् २०१९ को नोभेम्बर अघि उक्त सम्झौताबाट ‌औपचारिक रुपमा अलग हुने प्रकिया सुरु गर्न सक्नेछैन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]