चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान
काठमाडौं, ३२ साउन । चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । पछिल्लो तनाव लद्दाख क्षेत्रमा भएको हो । यसअघिदेखि नै डोकलाम क्षेत्रमा दुबै देशका सेना आमनेसामने भएर बसेका छन् । सीमा क्षेत्रमा देखिएको तनाव कम गर्न कुटनीतिक प्रयास असपल हुँदै गएको परिस्थितिमा लद्दाखमा मंगलबार दुबै मुलुकका सेना एकआपसमा भिडेका हुन् । यद्यपि दुबैतर्फबाट हतियार भने प्रयोग गरिएको थिएन ।
भारतले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा चिनियाँ सेना प्रवेश गर्न खोजेपछि सामान्य झडप भएको जनाएको छ । तर चीनले सीमा क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्न खोजेपछि भारतीय सेनालाई पछाडि हटाइएको दाबी गर्दै आएको छ । स्थिति नियन्त्रणमा लिन ‘ब्यानर ड्रिल’ गरिएको र दुबै पक्षका सेना आ–आफ्नो स्थानमा फर्किएको भारतीय संचारमाध्यमले सैनिक स्रोतलाई उद्धृत गर्दै जनाएका छन् ।- एजेन्सी