उत्तर कोरियाद्वारा ‘निर्दयी परमाणु हमला’ गरेर चकित पार्ने चेतावनी

२०७४ भाद्र ४ गते, आईतवार

काठमाडौं, ४ भदौ । अमेरिकी–दक्षिण कोरियाली सैन्य अभ्यासलाई उत्तर कोरियाले ‘परमाणु युद्धको अन्तिम चरणको अनियन्त्रित व्यवहार’ बताउँदै कुनैपनि समयमा ‘निर्दयी परमाणु हमला’ गरेर चकित पार्ने चेतावनी दिएको छ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनले शनिबार (हिजो) सरकारी मुखपत्रिका ‘रोडोंग सिन्मुन’मार्फत सोमबार (भोलि)बाट सुरु हुन लागेको गठबन्धन सैन्य अभ्यासबाट कुनै खतरा भए अमेरिकाको कुनैपनि भु–भागमा कुनैपनि समयमा ‘निर्दयी परमाणु हमला’ गरेर चकित पार्ने चेतावनी दिएका हुन् ।
। ‘रोडोंग सिन्मुन’लाई उद्धृत गर्दै सरकारी समाचार संस्था ‘केसिएनए’ले लेखेको छ, ‘सर्वोच्च नेता किमले भनेका छन् ‘अब उत्तर कोरियाको मिसाइल कुनैपनि समयमा गुआम द्विपमा मात्र नभई अमेरिकी हवाई शहर लगायत मुख्य भू–भागमा लक्षित रहेको छ ।’
उत्तर कोरियाली वर्कस पार्टिद्वारा सन्चालित सरकारी पत्रिका ‘रोडोंग सिन्मुन’लाई उत्तर कोरियाको आधिकारीक मुखपत्रका रुपमा लिने गरिन्छ । ‘रोडोंग सिन्मुन’ले लेखेको छ, ‘सोमबार (भोलि)बाट सुरु हुन लागेको अमेरिकी–दक्षिण कोरियाली गठबन्धन सैनिकले उल्ची फ्रिडम गार्डियन सैन्य अभ्यास गर्दैछन् । सैन्य अभ्यासबाट अमेरिकाले परमाणु युद्धको लागि अन्तिम चरणको रुपमा उक्साउँदै छ । अब हाम्रा मिसाइलहरु गुआम द्वीपमा मात्र नभई अमेरिकी हवाइ शहरलगायत मुख्य शहरहरुमा लक्षित छ । अब ‘निर्दयी तरिकाले परमाणु हमला गरेर अमेरिकालाई चकित बनाउनेछौँ ।’
यसै साता उत्तर कोरियाले अमेरिकी प्रशान्त महासागरस्थित गुआम द्विपमा चारओटा परमाणु क्षेप्यास्त्रद्वारा हमला गर्ने विस्तृत योजना सार्वजनिक गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ । यता, अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु हमलाको जवाफ दिन सक्षम रहेको प्रतिकृया दिएपछि उत्तर कोरिया आक्रामक बनेको छ । गत बिहीबार दक्षिण कोरियली राष्ट्रपती मुन जाय इनले कोरियाली प्रायद्विपले युद्ध थाम्न नसक्ने बताउँदै उत्तर कोरियासंँग शान्ति वार्ताको प्रस्ताव गरेका थिए । तर, दक्षिण कोरियाले उत्तरसँग शान्तिको अपिल गरीरहेको समयमा अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्याश गर्न लागेपछि उत्तर कोरिया झन् आक्रामक बन्दै ‘निर्दयी तरिकाले परमाणु हमला गरेर चकित पारिदिने’ चेतावनी आएको जनाइएको छ ।
परमाणु मिसाइल हमलाको लागि तयारी पुरा भएको र सैनिकहरुले सर्वोच्च नेता किमको आदेश कुरेर बसिरहको ‘रोडोंग सिन्मुन’ उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]