रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई
काठमाडौं, १९ असोज । यस वर्षको रसायन शास्त्र विधातर्फको नोबेल पुरस्कारबाट तीनजना वैज्ञानिक सम्मानित हुने भएका छन् । रसायन शास्त्र विधामा निरन्तर अनुसन्धान र नवीन आविष्कारमा समर्पित तीनजना वैज्ञानिकहरु–जाकेस डुबोसेट, जोएसिम फ्र्यांक र रिचार्ड हेन्डर्सनलाई संयुक्तरुपमा ‘नोबेल केमिस्ट्री प्राइज’बाट पुरस्कृत गर्न लागिएको हो ।
यस पुरस्कारको धनराशी ९० लाख स्वीडिस क्रोनार (करिब ११ लाख अमेरिकी डलर) बराबर रहेको जनाइएको छ । शरीरका अतिसूक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तथा तिनीहरुका गतिविधि अवलोकन गर्ने (इमेजिङ टाइनी एन्ड फ्रोजन मोलिक्युल्स) अत्याधुनिक प्रविधियुक्त नवीनतम् वैज्ञानिक उपकरण क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपीको आविष्कार र निर्माण गरेबापत उनीहरुलाई नोबेल केमिस्ट्री प्राइज प्रदान गर्ने घोषणा गरिएको हो । क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपी विधिलाई अतिसरल र उच्च प्रभावकारी प्रविधि ठहर्याउँदै नोबेल केमिस्ट्री कमिटीले ‘कुल मेथडू’ भन्ने संज्ञा दिएको छ ।
यस नवीनतम् प्रविधिको प्रयोगबाट अबदेखि विद्युतीय प्रकाश (इलेक्ट्रोन बिम)को सहायताले शरीरमा अतिसूक्ष्म र जमेका जीवाणु बसेका कोसिकाको फोटो खिच्न अनुसन्धानकर्ताहरुलाई सहज हुने पनि नोबेल केमिस्ट्री कमिटीले जनाएको छ ।
यस प्रविधिले शरीरको कोसिकामा रहेका हानिकारक भाइरस, प्रोटिनलगायत अतिसूक्ष्म जीवाणु र तत्वहरुको विस्तृत नालीबेली ज्ञात गराउन सहयोग पुग्नेछ । साथै, यसै प्रविधिले अब जिका भाइरसबाट उत्पन्न कठिन रोगहरुको औषधि, उपचार, नियन्त्रण तथा रोकथाम गर्ने विश्वास नोबेल केमिस्ट्री कमिटीले लिएको जनाइएको छ ।- रासस/एएफपी