जापानमा सत्तारुढ गठबन्धनले दुई तिहाई बहुमत ल्याउने संकेत

२०७४ कार्तिक ६ गते, सोमबार

काठमाडौँ , ६ कात्तिक । जापानमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री सिन्जो आबेको पार्टीले दुई तिहाई बहुमत ल्याउने सर्वेक्षणहरुले देखाएका छन् । सर्वेक्षणहरुले प्रधानमन्त्री आबेको पार्टी लिबरल डेमोक्रेटिक र त्यससँगको गठबन्धनमा आबद्ध दलहरुले दुई तिहाई सिट जित्ने देखाएका हुन् । मतदाता माझ गरिएका एक्जिट पोलले आबे र उनको दलसँग गठबन्धन गरेका पार्टीहरुले करिब ३ सय १२ सिट जित्ने देखाएका हुन् । जापानमा सरकार बनाउन २ सय ३३ सिट आवश्यक पर्छ ।
चुनावी परिणामले आबेलाई हालसम्मकै सबैभन्दा बढी सत्तामा बस्ने प्रधानमन्त्री बनाउने निश्चितजस्तै भएको छ । चौथो कार्यकालका लागि प्रधानमन्त्री चुनिए देशको संविधानमा आधारभूत परिवर्तन गर्ने बाचा आबेले गर्दै आएका छन् । उनको पार्टी अत्यधिक बहुमतको नजिक पुग्नुको पछाडि विपक्षी दलहरुमा देखिएको बेमेल र भद्रगोलको अवस्था रहेको प्रमुख कारण मानिएको छ ।
त्यससँगै उत्तर कोरियाका शासक किम जोङ उन पनि आबेको लोकप्रियता चुलिनुको आंशिक कारक रहेको बताइएको छ । किमले जापानी क्षेत्रमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेपछि प्रधानमन्त्री आबेको लोकप्रियता अकस्मात बढेको हो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]