क्याटलोनियाको स्वातन्त्रता खारेज

२०७४ कार्तिक ११ गते, शनिबार

काठमाडौँ, ११ कात्तिक । क्याटलोनियाको स्वतन्त्रता खारेज गरिएको छ । स्पेनले क्षेत्रीय सरकार र संसद्लाई विघटन गर्दै निर्वाचनको घोषणा गर्दै क्याटलोनियामा प्रत्यक्ष शासन लागू गरेको छ । क्याटलोनियालाई ‘सामान्य अवस्थामा फर्काउन’का निम्ति केन्द्र सरकारको प्रत्यक्ष शासन लागू गर्न आवश्यक भएको स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले बताएका छन् ।
प्रधानमन्त्री राखोयले क्याटलोनियाका अधिकांश जनताले स्वतन्त्र हुने कदमलाई समर्थनमा नगरेको दाबी गरे । टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री राखोयले आफ्नो एउटा भूभाग चोरिएको हुँदा त्यसको पक्षमा स्पेनी जनता नउभिने उल्लेख गरे । उनले क्याटलोनियामा डिसेम्बर २१ तारिखमा चुनाव गराइने घोषणा समेत गरेका छन् ।
क्षेत्रीय प्रहरी प्रमुखलाई बर्खास्त गरिएको छ भने देशद्रोहको आरोपमा क्षेत्रीय कमाण्डरमाथि अनुसन्धान भइरहेको छ । क्याटलन प्रहरीको अधिकार खोसिने वा नखोसिनेबारे केही बताइएको छैन ।
यसअघि क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रवार स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो ।
१३५ जना सांसदमध्ये ७० जना स्वतन्त्रताको पक्षमा उभिएका थिए भने १० जना विपक्षमा उभिएका थिए । दुईजना सांसद अनुपस्थित रहे भने स्वतन्त्रताको विपक्षमा रहेका सांसदहरुले संसदीय प्रक्रिया बहिष्कार गरेका थिए ।
स्पेनबाट स्वतन्त्र हुनका लागि भन्दै अक्टोबर १ तारिखमा क्याटलोनियामा जनमत संग्रह गराइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]