‘जैस-ए मोहम्मद’का वरिष्ठ कमान्डर मारिए

२०७४ पुष १२ गते, बुधबार

काठमाडौं, १२ पुस । भारत नियन्त्रित जम्मु कस्मिरमा पृथकतावादी समूह जैस–ए मोहम्मदका एक वरिष्ठ कमान्डर मारिएका छन् । भारतीय अर्धसैन्य बलसँग भएको गोली हानाहानमा नूर मोहमद त्यान्त्रेको मृत्यु भएको हो । श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोरा गाउँमा गोली हानाहान भएको बताइएको छ । विशेष गुप्तचरको सूचनाअनुसार सो क्षेत्रमा अर्धसैन्य बलले कारबाही शुरु गरेको थियो ।
पृथकतावादी समूहको कमान्डर त्यान्त्रेले श्रीनगर जम्मुको राजमार्गका कतिपय क्षेत्रमा आक्रमणको योजना बनाएको सूचना प्रहरीले पत्ता लगाएको थियो । कारबाहीका क्रममा एक जना प्रहरीसमेत घाइते भएका छन् । त्यान्त्रे मारिएको समाचार सार्वजनिक भएपछि कस्मिरमा प्रदर्शन भएको छ । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]