ट्रम्पका वकिलद्वारा पुस्तकलाई बजार पठाउन रोक

२०७४ पुष २१ गते, शुक्रबार

काठमाडौं, २१ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले उनको प्रशासनका बारेमा गम्भीर दावी गरिएको पुस्तक बजारमा जानबाट रोक्ने प्रयास थालेका छन् । पत्रकार माइकल वुल्फले लेखेको ट्रम्प प्रशासनसम्बन्धी पुस्तक ‘फायर एण्ड फ्यूरीः इनसाइड द ट्रम्प ह्वाइट हाउस’ मा राष्ट्रपति ट्रम्पको ह्वाइट हाउस यात्रा र त्यसपछिका विभिन्न पक्षबारेमा खुलाइएको छ । पुस्तकमा स्टीभ बेननसहितका ट्रम्पका पूर्व सहयोगीले ट्रम्प प्रशासनका बारेमा गोप्य कुरा खुलाएका छन् । यसले ट्रम्प प्रशासन समस्यामा परेको छ ।
यही कारण राष्ट्रपति ट्रम्पका कानुन व्यवसायीहरु पुस्तक बजारमा जानबाटै रोक्ने उपाय खोजिरहेको बताइएको छ । बेननले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे पत्रकार माइकल वुल्फको किताबमा बताएका छन् । हिलारी क्लिन्टनका बारेमा डोनाल्ड ट्रम्पका छोरालाई रुसी अधिकारीले सन् २०१६ को जुनमा भएको भेटमा जानकारी दिएको बेननले बताएका हुन् ।
रुसी अधिकारीसँगको ट्रम्प जुनियरको भेट गैरकानुनी रहेको बेननको भनाइ छ । सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउन बेननको महत्वपूर्ण हात रहेको अमेरिकी सञ्चारमाध्यमहरुले बताइरहेका छन् ।
ट्रम्पले चुनाव जितेपछि पनि ह्वाइटहाउसको प्रमुख रणनीतिक सल्लाहकारका रुपमा रहेका बेननलाई राष्ट्रपति ट्रम्पले गत अगस्टमा बर्खास्त गरेका थिए । आफ्नो बारेमा गम्भीर खुलासा गरेपछि ट्रम्पले बुधबार वक्तव्य जारी गरेर बेननको आरोपको खण्डन गर्दै बेनन र राष्ट्रपति चुनावमा उम्मेदवारीबीच कुनै सम्बन्ध नरहेको भन्दै बचाउ प्रयास गरेका छन् । विवादका बीच प्रकाशकले भने आउँदो मंगलबार सार्वजनिक गर्ने भनिएको पुस्तकलाई शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु