ट्रम्पको कार्यकाल दोस्रो वर्षमा प्रवेश
काठमाडौं, ८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यकालको पहिलो वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गरेक छन । राष्ट्रपतिको जिम्मेवारी सम्हालेदेखि नै विवादमा तानिएका ट्रम्पको कार्यकालको पहिलो वर्ष पूरा भएको दिन विभिन्न सहरमा महिलाद्वारा व्यापक विरोध प्रदर्शन भएका छन् ।
ट्रम्पले महिला सशक्तिकरण र आप्रवासन, गर्भपतन, तेस्रो लिङ्गी अधिकारका बारेमा लिएको निर्णय ठिक नभएको भन्दै बिरोधमा महिलाशरु उत्रिएका थिए । विमन्स मार्च २.०’ नाम दिइएको प्रदर्शनमा लस एन्जेलसदेखि न्युयोर्कसम्मका प्रदर्शनकारीले ट्रम्पले लिएको निर्णयलाई निन्दा गरेका थिए । सन् २०१७ मा वासिङ्टन डिसीमा भएको यस्तै खालको प्रदर्शन र विश्वभर भएका सयौं यस्तै खालका र्यालीले ट्रम्प विचारका विरुद्धमा आवाज उठाएको थियो । गत वर्ष भएको र्यालीमा विश्वभरका लाखौं महिलाले ट्रम्पको महिलाप्रतिको दृष्टिकोणको विपक्षमा प्रदर्शन गरेका थिए ।शनिबार भएको प्रदर्शनका आलोचकहरु भने उक्त प्रदर्शन राष्ट्रपति ट्रम्पविरुद्धको प्रदर्शन भएको आरोप लगाएका छन् ।यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार ट्विट गर्दै एक वर्षको अवधिमा अमेरिकामा भएको आर्थिक सफलतालाई मनाउनका लागि महिलाहरुले प्रदर्शन गर्न राम्रो दिन भएको बताएका थिए ।
‘ऐतिहासिक आर्थिक सफलता र सम्पत्तिको वृद्धि भएको यो पछिल्लो १२ महिनाको अवधिको खुसीयाली मनाउनका लागि बाहिर निस्कनुस्,’ रिपब्लिकन राष्ट्रपति ट्रम्पले ट्विट गरेका छन् । ‘विगत १८ वर्षमा महिला वेरोजगारीका दरमा कमी आएको छ,’ उनले लेखेका छन् ।सन् २०१६ मा सुरु भएको राष्ट्रपतीय अभियानसँगै ट्रम्पलाई पुरुषले भन्दा महिलाले कम रुचाएको सर्वेक्षणहरु बेलावखत जारी हुने गरेका छन् ।
पिऊ रिसर्च सेन्टर नामक संस्थाले गत मे महिनामा गरेको एउटा सर्वेक्षणमा ४६ प्रतिशत पुरुषले ट्रम्पको गतिविधिलाई मन पराएका थिए भने करिब ३३ प्रतिशत महिलाले मात्रै उनको कामकारबाहीको समर्थन गरेका थिए ।