उत्तर र दक्षिण कोरियाका अधिकारीबीच वार्ता

२०७४ फाल्गुन १५ गते, मंगलवार

काठमाडौँ, १५ फागुन । उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच मंगलबार वार्ता भएको छ । यी दुई देशबीचका कार्यकारिणी तहका अधिकारीबीच सो वार्ता भएको बताइएको छ । उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकुदकोबारेमा समीक्षा गर्नुकासाथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीकाबारेमा कुराकानी गरेका बुझिएको छ । सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले मंगलबार दिएको छ । उक्त मन्त्रालयकाअनुसार मंगलबार बिहान १० बजेबाट सो वार्ता सुरु भएको थियो । सो वार्ताका लागि दक्षिण कोरियाले गत हप्ता नै उत्तरलाई पत्र पठाएको थियो । उत्तर कोरियाले सो पत्रमा केही दिनअघि सहमति जनाएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
उक्त वार्ता उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको पानमुनजोममा सुरु भएको हो । पूर्व निर्धारित् समयअनुसार नै बिहान १० बजेबाट वार्ता सुरु भएको बताइएको छ । सो वार्ताका लागि दुई कोरियाका तर्फबाट अधिकारीहरु अन्तर कोरियाली विभागका महानिर्देशकहरुको सहभागिता रहेको छ । वार्तामा दुवैतर्फका तीन/तीनजना सदस्य रहेका छन् ।
यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकुदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुस गरिएको छ । यसै खेलकुदका समयमा विकसित सम्बन्धका कारण उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमन्डलले अमेरिकी अधिकारीसँग पनि भेटवार्ता गर्न चाहेको पनि सोमबारै सार्वजनिक भएको छ । दक्षिण कोरियामा आयोजना भएको यस शीतकालीन खेलकुदका कारण उत्तर र दक्षिण कोरियाकासाथै उत्तर कोरियाको अरु देशसँगको सम्बन्धमा पनि सुधारको संकेत देखिएको अनुमान गरिएको छ ।- रासस/सिन्ह्वा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु