युरोपबाट १०० भन्दा बढी रुसी कूटनीतिक कर्मचारी निकाला
काठमाडौं, १३ चैत । अमेरिका र उसका युरोपेली साझेदारहरुले बेलायतमा एकजना पूर्वरुसी गुप्तचरमाथि असर गर्ने विषालु रासायनिक आक्रमणको संयुक्त प्रतिक्रियास्वरुप दर्जनौं रुसी कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएका छन् । संयुक्तरुपमा रुसी जासुसी अधिकारीहरुलाई देश निकाला गरिएको यो इतिहासमै ठूलो घटना हो । बेलायतसँग मिलेर २० भन्दा बढी मुलुकले १०० भन्दा बढी रुसी कूटनीतिक कर्मचारी निकाला गर्दैछन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ६० जना रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएका छन् । साथै, सियाटलमा रहेको रुसी महावाणिज्यदूतावासको कार्यालय पनि बन्द गर्न अमेरिकाले भनेको छ । क्यानडा, जर्मनी, फ्रान्स, युक्रेन तथा अरु युरोपेली राष्ट्रले पनि त्यस्तै कदम चाल्दै रुसी कूटनीतिज्ञलाई निष्कासन गरेका छन् ।
गत मार्च ४ मा दक्षिणी इंग्ल्यान्डको सोल्जबरीमा पूर्वरुसी गुप्तचर सेर्गेइ स्क्रीपाल र उनकी छोरी युलियामाथि स्नायु प्रणालीमा असर पर्ने रासायानिक आक्रमण रुसले गराएकोमा इयू राष्ट्रहरु एकमत छन् । रुसले भने सो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । अस्पतालमा उपचाररत् स्क्रीपाल र युलियाको अवस्था गम्भीर छ । युक्रेनले पनि १३ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको छ । बेलायतले यो महिनाको सुरुमै २३ जना रुसी कूटनीतिज्ञ देश निकाला गरिसकेको छ । -एजेन्सी