प्रधानमन्त्री अब्बासीलाई कपडा खोल्न लगाइयो !
काठमाडौं, १४ चैत । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई अमेरिकाको जोन एफ केनेडी अन्तराष्ट्रिय विमानस्थलमा सर्वसाधारणलाई जस्तै गरी कपडा फुकाल्न लगाइएको छ । विमानस्थलको सुरक्षा जाँचका क्रममा कोट खोल्नुका साथै ब्याग बोकेर नियमित सुरक्षा जाँच पूरा गरेको भिडियो सार्वजनिक भएको छ । बहालवाला प्रधानमन्त्रीलाई यसरी खानतलासी गरिएको पहिलो पटक भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । सामान्यतया भीआईपीहरुलाई नियमित सुरक्षा जाँच प्रक्रिया पूरा गर्नु पर्दैन । अब्बासी पाकिस्तानी प्रधानमन्त्री हुन् । तर, उनलाई आम मानिसलाई जस्तै सुरक्षा जाँच गरेर अपमान गरेको प्रतिक्रिया पाकिस्तानमा पाइएको छ ।
पाकिस्तानी मिडियाले यस घटनाले पाकिस्तानको बेइज्जत भएको बताएका छन् । अमेरिकाले प्रोटोकललाई ध्यान नदिएको भन्दै पाकिस्तानमा अमेरिकाको कडा आलोचना भैरहेको छ । उनी गत हप्ता आफ्नी बिरामी बहिनी भेट्न अमेरिका पुगेका थिए । बहिनी भेट्ने बहानामा पुगेका अब्बासीले अमेरिकी उपराष्ट्रपति माइक पेंससंग भेट गरेका थिए । पाकिस्तानी प्रधानमन्त्री अमेरिका जानुभन्दा पहिले परमाणु व्यापारको आशंकामा सात पाकिस्तानी कम्पनीलाई अमेरिकामा प्रतिबन्ध लगाइएको थियो । साथै अमेरिकाले पाकिस्तानमा वर्षौँदेखि अरबौँको सहायता गरे पनि उत्पादनशील कार्यक्रममा खर्च नभएको भन्दै सहायता रकममा कटौती गर्ने जनाएको छ ।