पाँच दर्जन अमेरिकी कूटनीतिज्ञले रुस छाडे

२०७४ चैत्र २२ गते, बिहीबार

काठमाडौं, २२ चैत । एकजना बृटिस गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेपछि सुरु भएको दुई देशबीचको कूटनीतिक समस्या सतहमा आएको छ । यस कूटनीतिक दरारको पछिल्लो परिणामस्वरुप बिहीबार केही अमेरिकी कूटनीतिज्ञले रुस छाडेका जनाइएको छ । रुसले देश निकाला गरेका ६० जना अमेरिकी कूटनीतिज्ञले बिहीबार मस्को छाडेका छन् । उनीहरु बिहीबारै मस्कोस्थित अमेरिकी दूतावासबाट बाहिरिएका हुन् । ६० जना अमेरिकी कूटनीतिज्ञ र उनका परिवारसमेत गरी कयौं अमेरिकीहरु मस्कोस्थित दूतावासमा जम्मा भएर बसमा चढी विमानस्थलसम्म पुगेका जनाइएको छ । उनीहरु बिहीबारै अमेरिकाका लागि प्रस्थान गरेका छन् । यसअघि अमेरिकाले वासिङ्टनस्थित ६० जना रुसी कूटनीतिज्ञहरुलाई देश छाड्न भनेको थियो । उनीहरुले गत हप्ता नै अमेरिका छाडेर आफ्नो देशतर्फ लागेका थिए । ६० जना रुसी कूटनीतिज्ञले गएको शनिबार अमेरिका छाडेर आफ्नो देश प्रस्थान गरेका हुन् । ती रुसी कूटनीतिज्ञहरु आफ्नो परिवारका सदस्यसहित करिब १७० जनाले देश छाडेका हुन् ।
अमेरिकाबाट रुसी कूटनीतिज्ञहरु फर्कंदै गरेको दिन नै रुसले पनि यहाँको सेन्ट् पिटर्स्बर्गस्थित अमेरिकी कन्सुलेट कार्यालय बन्द गर्न रुसी सरकारले निर्देशन गरेको थियो । सोही कन्सुलेट कार्यालयका ती अमेरिकी कूटनीतिक कर्मचारीहरुले बिहीबार रुस छाडेका हुन् । अमेरिकाले आफ्ना ६० जना कर्मचारीलाई देश निकाला गरेकाले रुस सरकारले पनि ६० जना अमेरिकी कूटनीतिज्ञलाई एक हप्ताभित्र देश छाड्न भनेको थियो । साथै, रुसले बेलायतले पनि रुसी कूटनीतिज्ञहरु हटाएकाले सोहीसरह नै बृटिसहरुलाई देश छाड्न भनेको छ । तर, अमेरिका र बेलायतले भने आफ्ना कूटनीतिज्ञहरुलाई बिनाकुनै आधार रुसले देश निकाला गरिरहेको भन्दै यस कदमको विरोध गर्दै आएका छन् ।
त्यसैगरी, अरु केही युरोपेली र पश्चिमा मुलुकहरुले पनि आफ्नो देशमा रहेका रुसी कूटनीतिज्ञहरुलाई हटाइरहेकाले आफूहरुले पनि सोहीबमोजिम ती देशका कूटनीतिज्ञहरु पनि निकाला गर्ने रुसको भनाइ छ । – रासस/एएफपी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु