हेलिकोप्टर दुर्घटना, चालकको मृत्यु
काठमाण्डौ , २५ वैशाख । रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुईजना चालकको ज्यान गएको बताइएको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी दुईजना चालकको ज्यान गएको जानकारी दिएको जनाइएको छ ।
रुसी समाचार समिति ‘इतार तास’ले जनाएअनुसार उक्त दुर्घटनाको कारण प्राविधिक गडबढी हुनसक्ने अनुमान गरिएको छ । सिरियामा यसै हप्तामात्र यो दोस्रो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । यसअघि, गत मे ३ मा पनि रुसी सेनाको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको थियो । त्यसमा पनि दुईजना चालक नै मारिएका थिए । – रासस/एएफपी