अमेरिका, युरोपेली देशहरुसँगको व्यापार अवरोध घटाउन सहमत
काठमाडौं ,११ साउन । युरोपेली संघ (ईयू) सँगको व्यापार अवरोधहरू घटाउन अमेरिका सहमत भएको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । युरोपेली संघका अध्यक्ष जाँ क्लड युङ्करसँगको भेटवार्तापछि ट्रम्पले अमेरिका र युरोपेली मुलुकबीचको व्यापार सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको बताए । दुवै नेताले औद्योगिक उत्पादनमा शून्य कर लगाउने दिशामा काम गर्ने, ऊर्जा क्षेत्रमा सहकार्य सशक्त बनाउने, ईयूले अमेरिकाबाट थप तरल ग्यास खरिद गर्ने विषयम सहमति गरेको बताएका छन् । अमेरिका र युरोपेली संघबीच बढ्दो तनावका माझ पछिल्ला सहमतिहरू भएका हुन् । ट्रम्पले युरोपबाट गरिने स्टील तथा एलुमिनियम आयातमा कर लगाएपछि र कारमा कर बढाउने धम्की दिएपछि व्यापार युद्धको सम्भावनालाई दुई नेताले मत्थर पारेका हुन्। ह्वाइट हाउसस्थित रोज गार्डेनबाट बोल्दै ट्रम्पले दुई व्यापार साझेदारबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको बताए । यसका लागि युङ्करले ट्रम्पलाई धन्यवाद समेत दिएका छन् । दुई नेताहरू वार्ता चलिरहेसम्म थप कर लगाउने कदमलाई रोक्ने र विश्व व्यापार संगठनको पुनर्संरचनाका लागि काम गर्ने सहमति पनि गरेका छन् । यङ्करले औद्योगिक उत्पादनहरूमा शून्य कर लगाउने विषयमा सहमति खोज्नु आफ्नो प्रमुख उद्देश्य भएको बताए । – एजेन्सी