टेलिभिजन नेटवर्कका प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप

२०७५ श्रावण १२ गते, शनिबार

काठमाडौं ,१२ साउन । अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरूले यौन दुर्व्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपबारे आफूहरूले अनुसन्धान गर्ने बताएका छन्। लेज मून्भेसले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको ६ जना महिलाले न्यू योर्कर म्यागजिनलाई बताएका छन्। त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चारजनाले बैठकका दौरान आफूहरूलाई मून्भेसले जबरजस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन्। एक लेखमा समाविष्ट एउटा विज्ञप्तिमा ६८ वर्षीय मून्भेसले आफ्नो कारणले केही महिलाहरूलाई ‘असहज भएको’ स्वीकारेका छन्। तर यौन दुर्व्यवहार गरेको आरोप चाहिँ उनले अस्वीकार गरेका छन्। उनले भनेका छन्, “त्यो गलत थियो र त्यसका लागि म एकदमै प्रायश्चित्त गर्छु। तर मैले सधैँ बुझ्ने गरेको छु र सम्मान गरेको छु। मैले कसैको जागिरमा क्षति पुर्‍याउन अथवा तगारो हाल्न आफ्नो पदको कहिल्यै दुरुपयोग गरेको छुइनँ।”
एउटा वक्तव्यमा सीबीएसले मून्भेसमाथि लगाइएका आरोपबारे अध्ययन गरिरहेको र ‘उपयुक्त कदम चाल्ने’ जनाएको छ।मून्भेसले यौन दुर्व्यवहार गरेको भनिएका केही घटना २० वर्षभन्दा पहिले भएको बताइएको छ। -बिबिसी ।

प्रतिक्रियाहरु

[anycomment]