‘पत्रकार खसोज्जीको हत्यारालाई कडा कानुनी सजाय हुन्छ’
काठमाडौं, ७ कार्तिक । साउदी अरबले पत्रकार जमाल खसोज्जीको हत्यारा जो भएपनि उसलाई कडा कानुनी सजाय हुने जनाएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकपछि जारी गरिएको विज्ञप्तिमा खसोज्जीको हत्यामा संलग्न जो कोही भएपनि उसलाई कानुनी दायरामा ल्याइने उल्लेख गरिएको छ । साउदी सरकारले सत्यतथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरिरहेको भन्दै र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न सबैलाई कानुन बमोजिम सजाय दिने प्रतिबद्धता पनि जनाएको छ । खसोज्जीको इस्तानबुलस्थित साउदी अरबेली महाबाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो । तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ ।
यसअघि खसोज्जीको हत्या गरेको अस्वीकार गर्दै आएको साउदी सरकारले पछि घटनाको जिम्मेदारी लिएको छ । उसले खसोज्जीको हत्याको कारण आफ्ना खराब एजेन्टहरु रहेको प्रतिक्रिया दिएको छ । खशोज्जीको हत्यापछि साउदी सरकार विश्वव्यापी आलोचनाको सिकार भइरहेको छ । -एजेन्सी