साउदी युवराजको निर्देशनमा पत्रकार खशोग्जीको हत्या भएको ‘सीआइए’को निष्कर्ष
काठमाडौं, १ मंसिर । अमेरिकी गुप्तचर निकाय (सीआइए) साउदी पत्रकार जमाल खशोग्जीको हत्याका लागि साउदी अरबका युवराज मोहम्मद बिन सलमानले निर्देशन दिएको निष्कर्षमा पुगेको अमेरिकी सन्चारमाध्यमले जनाएका छन् । टर्कीले हत्यासँग जोडिएको टेप अमेरिका र साउदीलाई उपलब्ध गराएपछि सीआइएको रिपोर्ट सार्वजनिक भएको हो । टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा गत अक्टोबर २ मा खशोग्जीको हत्या भएको थियो ।
साउदी युवराजका कट्टर आलोचक मानिने खशोग्जीको हत्या उनको स्वीकृतिबिना सम्भव नभएको उनीहरुको बुझाइ छ । तर, साउदी अरबले भने यो दाबी झुटो भएको भन्दै खशोग्जी हत्याको योजनाबारे युवराजलाई कुनै जानकारी नभएको जनाएको छ । सुरुमा उनको अवस्थाबारे जानकारी नभएको बताउँदै आएको सायदी सरकारले चर्को दबाबपछि भने खशोग्जीको मृत्यु भएको र खराब नियत भएका ‘एजेन्ट’ले हत्या गरेको जनाएको थियो । तर, अझै उनको शव फेलापर्न सकेको छैन । टर्कीले उनको हत्या उच्च तहबाट भएकोमा जोड दिँदै आएको छ ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति माइक पेन्सले खशोग्जीको हत्यामा संलग्नलाई न्यायको कठघरामा उभ्याउनुपर्ने बताएका छन् । – एजेन्सी