भग्नावशेषमा पुरिएका ११ महिने बालकको जिउँदै उद्धार

२०७५ पुष १८ गते, बुधबार

काठमाडौँ, १८ पुस । रुसको मध्य क्षेत्रमा रहेको मग्नितागोस्र्क सहरको एक भवनामा गत सोमबार भएको बिस्फोटपछि भग्नावशेषमा पुरिएकाहरुलाई खोज्ने क्रममा ११ महिने बालकको जिउँदै उद्धार गरिएको छ । तापमान माइनस १७ पुगेको अवस्थामा पनि इवान नामका ती बालकलाई जिउँदै उद्धार गरिएको हो । भग्नावशेष पन्छाउने क्रममा रुँदै गरेको बालकलाई उद्धारकर्मीहरुले फेला पारेका हुन् । उनको टाउकोमा सामान्य चोट लागेको छ भने हात र खुट्टा भाँचिएको छ । उनलाई थप उपचारको लागि मस्कोको एक अस्पतालमा भर्ना गरिएको छ ।
गत सोमबार भएको बिस्फोटमा चारजनाको ज्यान गएको थियो । विस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएको छ । अझै ३६ जना बेपत्ता रहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । भवनमा १२० जना बस्दै आएका थिए । राष्ट्रपति पुटिनले प्रभावितलाई सबै प्रकारको सहयोग गर्ने बताउनु भएको छ । भवनको पहिलो तलामा विस्फोट भएको हो । ग्यास लिक भएर विस्फोट भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]