सिरियामा इरानको प्रभाव पर्न नदिने : अमेरिकी विदेशमन्त्री
काठमाडौं, २७ पुस । अमेरिकी विदेशमन्त्री माइक पोम्पेयोले सिरियामा इरानको कुनै पनि प्रभाव पर्न नदिने बताएका छन् । उनले सिरियाबाट इरान समर्थित सबैलाई हटाउन अमेरिकाले आफ्ना सहयोगीहरुसँग मिलेर काम गर्ने बताए । इजिप्ट भ्रमणमा रहेका विदेशमन्त्री पोम्पेयोले कायरोमा पत्रकारहरुसँग कुरा गर्दै इरान र उसलाई सहयोग गर्ने लडाकु सिरियाबाट बाहिर नगएसम्म सिरियाका राष्ट्रपति बसर अल असदको नियन्त्रणमा रहेको क्षेत्रमा पुनर्निर्माणका लागि कुनै सहयोगसमेत नगर्ने प्रष्ट पारे । उनले पूर्वराष्ट्रपति बाराक ओबामाको नाम नलिए पनि यसअघिको मध्यपूर्वसम्बन्धी अमेरिकी नीतिको आलोचना गरे । उनले सो नीति पुरै गलत भएको दाबी गरे ।
करिब तीन साताअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता लैजाने बताएका थिए । अमेरिकी राष्ट्रपतिको भनाइपछि निराश सहयोगी देशप्रति हौसला प्रदान गर्न विदेशमन्त्री पोम्पेयोले सहयोगी मुलुकहरुलाई साथ दिने बताएका हुन् । उनले सिरियाबाट अमेरिकी सेना फिर्ता भए पनि सहयोगी मुलुकलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । -एजेन्सी