मेयरको हत्या

२०७५ माघ १ गते, मंगलवार

काठमाडौं, १ माघ । पोल्यान्डको गडान्स्क शहरका मेयर पावेल अडमोविजको हत्या भएको छ । परोपकारीसम्बन्धी एउटा कार्यक्रममा सहभागी भएका बेला मेयर पावेलमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको हो । ५३ वर्षीय मेयर पावेलको उपचारका क्रममा निधन भएको अधिकारीहरुले जनाएको छ । सयौं मानिस सहभागी कार्यक्रममा मेयर पावेल स्टेजमै रहेका बेला एक व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते भएका मेयरलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उहाँको पाँच घण्टा लामो शल्यक्रिया गरिए पनि बचाउन नसकिएको अधिकारीहरुले जनाएका छन् । घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय एक युवकलाई पक्राउ गरिएको छ । उनले पत्रकारको परिचयपत्र बनाएर मेयरलाई भेट्दै आक्रमण गरेको आरोप प्रहरीले लगाएको छ । पक्राउ परेका व्यक्ति यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोप प्रहरीको छ । मेयर पावेल अडमोविजको हत्याको विरोधमा देशभर प्रदर्शन भएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]