सिरिया र इराक इस्लामिक स्टेटबाट मुक्त हुने !

२०७५ माघ २४ गते, बिहीबार

काठमाडौं २४ माघ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी हप्ताभित्र पूर्णरुपमा नियन्त्रणमा लिइसक्ने दावी गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी गठबन्धनका सहयोगीहरुसँग आगामी हप्ता कुनै पनि समय आइएसले कब्जा गरेको क्षेत्रलाई शतप्रतिशत नियन्त्रणमा लिएको घोषणा गरिने जनाए । उनले पछिल्लो दुई बर्षमा दुई हजार वर्गमाइल क्षेत्रलाई कब्जामुक्त गरिएको भन्दै युद्धको मैदानमा विजयी भएको जिकिर गरे । राष्ट्रपति ट्रम्ले आफुहरुले जितपछि जित हासिल गरिरहेको स्पष्ट पारे । उनले दुई महिना पहिले सिरियामा जिहादीहरुलाई हराएको भन्दै त्यहाँबाट अमेरिकी सेनालाई फर्काउने घोषणा यसअघि नै गरिसकेका छन् । बासिंटनमा अमेरिकाले अगुवाइ गरेको गठबन्धनको बैठकमा राष्ट्रपति ट्रम्पले सिरियामा अब आइएसको केवल अवशेषमात्र बाँकी रहेको दावी गरे ।
यसअघि बैठकमा बोल्दै विदेशमन्त्री माइक पोम्पियोले अमेरिकाले सिरियाबाट आफ्ना सेना फिर्ता बोलाए पनि आइएसविरुद्धको लडाईँ जारी राख्ने बताए । उनले आइएसको कब्जाबाट फुत्काइएका इलाकाको पुनर्निर्माणका लागि सहयोग रकम जुटाउन पनि आह्वान गरे । आइएसविरुद्ध करिब ८० देशले मोर्चाबन्दी गरेका छन् । यो गठबन्धन सन् २०१४ देखि आइएसविरुद्ध लडिरहेको छ । राष्ट्रपति ट्रम्पले गठबन्धन सहयोगीहरुलाई धन्यवाद दिँदै आगामी कयौं बर्षसम्म मिलेर काम गर्ने प्रतिबद्धता जनाए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]