अमेरिका र चीनबीचको वार्ता सम्झौताविना टुंगियाे
काठमाडौं,५ फागुन । चीनको राजधानी वेइजिङमा भएको अमेरिका र चीनबीचको उच्चस्तरीय व्यापार वार्ता सम्झौताविना टुंगिएको छ । दुई देशका अधिकारीहरूबीच भएको वार्तामा मतभेद नसुल्झिएपछि बैठक विना निष्कर्ष टुंगिएको हो । वार्ताले आगामी हप्ता अमेरिकामा पुनः निरन्तरता पाउने चीनले बताएको छ । केही निकै महत्त्वपूर्ण र अप्ठयारो विषयमा प्रगति हुन बाँकी नै रहेको अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटथाइजरले बताएका छन् । गतवर्षको मध्यदेखि अमेरिका र चीन व्यापार युद्धमा होमिएका थिए । विभिन्न चरणमा एकअर्काको देशबाट आयातित खर्बौं डलर बराबरका वस्तुमाथि अतिरिक्त महशुल लगाएपछि डिसेम्बरमा अमेरिका र चीनले ९० दिनका लागि नयाँ महशुल नलगाउने र विवाद सुल्झाउन वार्ता गर्ने घोषणा गरेका थिए । मार्च १ सम्ममा स्थायी समाधान निकाल्न कुनै सम्झौता भएन भने २ खर्ब डलरबराबरका चिनियाँ आयातमा हाल १० प्रतिशत रहेको कर बढाएर २५ प्रतिशतमा पु-याउने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।