भारतीय वायुसेनाद्वारा पाकिस्तानमा हमला

२०७५ फाल्गुन १४ गते, मंगलवार

काठमाडौं, १४ फागुन । भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच चिसिएको सम्बन्ध मंगलबार थप तनावपूर्ण स्थितिमा पुगेको छ । दुवै मुलुक युद्ध उन्मुख भएको परिदृष्य देखा परेको छ । सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच तनावपूर्ण अवस्था रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय संचारमाध्यमका अनुसार गएराति पाकिस्तानी क्षेत्रबाट भारतीय क्षेत्रमा मोर्टार हमला भएको छ ।
यता, पाकिस्तानी पक्षले भने भारतीय वायुसेनाको विमान नियन्त्रण रेखा पार गरी पाकिस्तानी क्षेत्रमा प्रवेश गरेर हमला गरेको आरोप लगाएको छ । मंगलबार बिहानै पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गफूरले केही तस्वीरका साथ ट्वीट गर्दै लेखेका छन्, ‘भारतीय वायुसेनाले नियन्त्रण रेखा उल्लंघन गरेको छ, पाकिस्तानी वायुसेनाले तत्काल कारवाही गरेको छ ।’ उता, पाकिस्तानी पत्रकार अर्सलान सिद्दीकीले एक भिडियो ट्वीट गरेका छन्, जसमा पाकिस्तानी सेना भारतीय लडाकु विमानलाई लक्षित गरेर मोर्टार प्रहार गरेका देखिन्छन् । उक्त भिडियोको आधिकारिकता भने पुष्टि हुन सकेको छैन । कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाहले पनि ट्वीट गर्दै पाकिस्तानी क्षेत्रमा भारतीय वायुसेनाले हमला गरेको सही हो भने यो ठूलो कारवाही भएको जिकिर गरेका छन् । तर उनले यसबारे सरकारको आधिकारिक धारणा बाहिर आउनुपर्ने बताएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]