पाकिस्तानले भारतविरुद्ध जवाफी कारबाही गर्ने
काठमाडौं, १५ फागुन । भारतले पाकिस्तानी भूमिमा बम खसालेर तीन सयभन्दा बढी विद्रोहीको हत्या गरेको दाबीकाे खण्डन गर्दै पाकिस्तानले भारतलाई उचित जवाफ दिने चेतावनी दिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय लडाकु विमानले आफ्नो भूभागमा आक्रमण गरी विद्रोही मारेको भन्ने दाबीलाई ‘मनगढन्ते’ संज्ञा दिएका छन् । उनले विद्रोही मारिएको भारतीय दाबी अस्वीकारसमेत गरे । प्रधानमन्त्री खानले सैनिकसहित देशका सबै शक्तिलाई जस्तोसुकै अवस्थाका लागि तयार रहन निर्देशनसमेत दिएका छन् । उनले भारतको गैरजिम्मेवार क्षेत्रीय नीतिविरुद्ध अन्य देशसँग छलफल गर्ने बताए । यस्तै पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले पाकिस्तानसँग निहुँ नखोज्न भारतलाई चेतावनी दिए । पाकिस्तान आफ्नो सीमा सुरक्षित राख्न सक्षम रहेको भन्दै उनले आवश्यक कदम चाल्ने बताए ।
यसअघि भारतले पाकिस्तान प्रशासित कश्मिरका विभिन्न स्थानमा बम आक्रमण गरेर ३ सयभन्दा बढी विद्रोही मारेको दाबी गरेको थियो । भारतीय वायु सेनाका १२ वटा मिराज २००० नामक लडाकु विमानले कश्मिरको सीमाबाट ३० किलोमिटरभित्र छिरेर २० मिनेटसम्म आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणबाट मुस्लिम लडाकु संगठन जैश–ए–मोहम्मदको तालिमस्थल ध्वस्त भएको समेत भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । यही फागुन २ गते भारत प्रशासित कश्मिरको पुलवामामा ४७ जना भारतीय सुरक्षा फौजको ज्यान जाने गरी गराइएको आत्मघाती विष्फोटको जिम्मेवार ठानिएको लडाकु संगठन जैश–ए–मोहम्मदको तालिम केन्द्रमा आक्रमण गरेको भारतीय सेनाले जनाएको छ । आक्रमणबाट जैश–ए–मोहम्मदका कमाण्डर एवं संगठनका सर्वोच्च नेता मसुद अजहरका भाइ समेत मारिएको पनि भारतीय अधिकारीहरुले दाबी गरेका छन् ।
उता, पाकिस्तानले जवाफी कार्बाही गर्ने घोषणा गरेको छ । पाकिस्तानी सेनाका प्रबक्ता जनरल गफुरले भारतीय बिमानले हवाइ सिमा उल्लंघन गरेको पाकिस्तानी हवाइ सेनाले चेतावनी दिए । भारत विरुद्ध उपयुक्त समयमा , उपयुक्त जवाफ दिने भन्दै गफुरले सेना जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको बताए । भारतीय मिडियामा सार्बजनिक भिडियो दुइ तिन बर्ष पुरानो रहेको र आन्तरिक राजनैतिक फाइदाका लागी उसले झुठो प्रचार गरेको उनको दाबी छ ।
दुबै देश युद्धमा जाने स्थिति बन्दै जादा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आपतकालीन सुरक्षा परिषदको बैठक बोलाएर देशको सार्बभौमसत्ता माथी उल्लंघन भारतले गरेको भन्दै जुनसुकै स्थितिका लागी तयार रहन निर्देशन दिएका थिए ।
आज पाकिस्तानको अाणविक हतियार सम्बन्धी निर्णय गर्ने नेसनल कमान्डको बैठक बोलाइएको स्थानीय सन्चार माध्यमले जनाएका छन । कास्मिरको लाइन अफ कन्ट्रोलमा दोहोरो फायरिङ चलिरहेको खबर छ । जसमा हिजो चार जना पाकिस्तानी सर्बसाधारण जनता मारिएका छ्न । पुलुवामा ४४ जना भारतीय सेनाको ज्यान जाने गरि भएको घटनामा पाकिस्तानको हात रहेको दावी गर्दै भारतले आक्रमणको धम्की दिदै आएको छ ।