यी हुन् विश्वकै महँगो र सबैभन्दा सस्तो सहर
काठमाडौं, ५ चैत ।‘इकोनोमिस्ट इन्टेलिजेन्स् युनिट सर्भे’ले जारी गरेको सूची अनुसार फ्रान्सको राजधानी प्यारिस विश्वको सबैभन्दा महँगो सहर बनेको छ भने हङकङ र सिंगापुर सँगै प्यारिस सबैभन्दा महँगो सहरको सूचीमा परेको हो । इकोनोमिस्ट इन्टेलजेन्स युनिटको इतिहासमै सबैभन्दा महँगो सहरको सूचीमा पहिलोपटक तीन सहर परेका हुन् । गत वर्ष प्यारिस सूचीको दोस्रो नम्बरमा थियो । विश्वका १३३ सहरलाई आधार मानी गरिएको सर्वेक्षणमा चारओटा युरोपियन सहर परेका छन् ।
सबैभन्दा महँगो सहरको सूचीको चौथो नम्बरमा स्वीट्जरल्यान्डको जुरिच, पाँचौंमा जापानको ओशाका, छैटौंमा डेनमार्कको कोपनहेगन, सातौंमा अमेरिकाको न्यूयोर्क, दशौंमा इजरायलको तल अविव र अमेरिकाको लस एन्जलस् संयुक्तरुपमा परेका छन् । सर्वेक्षणका लागि सबैभन्दा साधारण वस्तु जस्तै, पाउरोटीको मूल्यलाई आधार मानिएको थियो र मानिसको जीवनस्तरलाई न्यूयोर्क सहरसँग तुलना गरी सूची तयार पारिएको बताइएको छ । मूल्यलाई आधार मान्दा आर्थिक संकटसँग जुधिरहेको भेनेजुयलाको राजधानी काराकास सबैभन्दा सस्तो सहर बनेको छ । गृहयुद्धको चपेटामा परेको सिरियाको राजधानी दमस्कस सबैभन्दा सस्तो सहरको दोस्रो सूचीमा परेको छ । यस्तै, भारतको राजधानी नयाँदिल्ली सबैभन्दा सस्तो सहरको आठौं नम्बरमा परेको छ । -एजेन्सी