कश्मीरमा आक्रमण गराउने अजहर राष्ट्रसङ्घको आतङ्कवादी सूचीमा
काठमाडौ, १९ बैशाख । हालै भारतको कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नेता मसूद अजहरलाई संयुक्त राष्ट्रसङ्घ युएन ले आतङ्कवादी घोषणा गरेको छ। मसूद अजहर भारत र पाकिस्तानबीच हंगमा गराउने जैश-ए-मोहम्मद समुहका प्रमुखसमेत हुन् । जैश-ए-मोहम्मद समुहले गत फेब्रुअरीमा कश्मीरको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जानेगरी ठूलो विस्फोटन गराएको थियो। उनलाई आतंकारी घोषणा गरेपछि भारतले आफ्नो कूटनीतिक जित भएको मानेको छ । राष्ट्रसङ्घका लागि भारतीय राजदूत सैयद अकबरुद्दिनले ट्विट गर्दै लेखेका छन्, “सबै देशको साथले अजहर आतङ्कवादी घोषित भएका छन्। सबैको सहयोगका लागि हामी कृतज्ञ छौँ ।” अब मसूदमाथि सम्पत्ति रोक्का एवं भ्रमणलगायतका विषण्मा प्रतिबन्धहरू लाग्नेछन्।
जैश-ए-मोहम्मदको शाब्दिक अर्थ मोहम्मदको सेना हुन्छ।सन् १९९९ मा भारतले मसूद अजहरलाई रिहा गरेको थियो । काठमाडौंबाट इन्डियन एयरलाइन्सको विमान अपहरण गरेर त्यतिबेला तालिबानले शासन गरिरहेको अफगानिस्तानमा पुर्याइएको थियो। सो क्रममा अपहरणकारीहरुले यात्रु सकुशल छोड्ने भन्दै अजहरको रिहाको माग गरेका थिए ।
त्रिभुवन विमानस्थलबाट दिल्लीको इन्द्रगान्धी विमानस्थलका लागि उडान तय गरेको एयर इन्डिया फ्लाइट नम्बर ८१४ को विमान २४ डिसेम्बर, शुक्रबार १९९९ मा अपहरण गरिएको थियो । सो अपहरणमा आईएसको सहयोग रहेको बताइन्छ । अपहरणकारीहरुले १७६ यात्रु मध्ये २६ लाई दुबईमा छोडेका थिए । बाँकी यात्रुसहित सो जहाज अफगान्सितानको कण्डहरमा ल्याण्ड गरिएको थियो ।
अजहर अफगानिस्तान पुगेपछि भूतपूर्व तालिबान नेता मुल्लाह ओमार तथा अल कायदाका नेता ओसामा बिन लादेनसँगसमेत भेटेको बताइन्छ।
दिल्लीस्थित भारतको केन्द्रीय संसद्मा सन् २००१ को डिसेम्बरमा आक्रमण गरेको दोष पनि भारतले जैश-ए-मोहम्मदमाथि लगाएको छ। २००१ मै पाकिस्तानले औपचारिक रूपमा उक्त समूहमाथि प्रतिबन्ध लगाएको थियो। तर सो समूह अझै सक्रिय रहेको ठानिन्छ । – एजेन्सी