इरानी विशेष सैन्य दस्ताका कमाण्डर मारिए
काठमाडौं , १८ पुष । अमेरिकाले गरेको हवाइ आक्रमणमा इरानी विशेष सैन्य दस्ता प्रमुख जनरल कासिम सोलेमानी मारिएका छन् । जनरल सोलेमानी इराकस्थित बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा मारिएको समाचार एजेन्सीहरूले जनाएका छन् । अधिकारीहरुका अनुसार यो हमलामा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहांदिस पनि मारिएका छन् ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सोलेमानीमाथि आक्रमण गरिएको जनाएको छ । सन् १९९८ देखि मेजर जनरल सोलेमानीले इरानको कुद्स फोर्सको नेतृत्व लिएका थिए । उनले सिरियाली गृहयुद्धमा बशर अल–असादको इरानी समर्थित सरकार र इराकमा इस्लामिक स्टेट (आईएस) समूहकाविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेलेका थिए । जनरल सोलेमानी इरानी शासनमा दोस्रा शक्तिशाली व्यक्ति मानिन्छन् ।-एजेन्सी