डब्ल्यूएचओद्वारा कोरोनाबाट पूरै विश्व सतर्क हुन आग्रह
काठमाडौं , १६ माघ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणबारे पुरै विश्व सतर्क हुनुपर्ने बताएको छ। डब्ल्यूएचओले कोरोनाको संक्रमण फैलिन नदिन सबै देश सतर्क हुनुपर्ने र मिलेर काम गर्नुपर्नेमा जोड दिएको हो। डब्लु एचओका प्रमुख डा. माइक रायनले कोरोना विश्वका लागि नयाँ चुनौति र निकै संवेदनशील विषय भएको बताएका छन्। उनले घातक भाइरससँग जुध्न चीनले चालेका कदमहरूको प्रशंसा समेत गरेका छन्। डब्ल्यूएचओले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भन्ने निष्कर्ष निकाल्न आज बैठक बोलाएको छ। गत साताको बैठकमा उसले त्यस्तो घोषणा गरेको थिएन। जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेएससले संक्रमण लगातार बढ्दा चीन बाहिरको अवस्था पनि चिन्ताजनक रहेको बताएका थिए। पछिल्लो विवरणअनुसार कोरोनाका कारण चीनमा मात्रै ७ हजार मानिस संक्रमित भएका छन् भने १७० जनाको मृत्यु भइसकेको छ। चीन बाहेक १६ वटा देशमा पनि कोरोना संक्रमण भेटिएको छ। -एजेन्सी