बिश्व स्वास्थ्य संगठनद्वारा स्वास्थ्य आपतकाल घोषणा
काठमाण्डौं , १७ माघ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार कोरोना भाइरसको महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि डब्लुएचओले यस्तो घोषणा गरेको हो । भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म २ सय १३ पुगेको छ । शुक्रबार बिहानसम्म चिनियाँ स्वास्थ्य आयोगले यस रोगबाट संक्रमित हुनेको सङ्ख्या ९ हजार ६ सय ९२ पुगिसकेको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सीले अन्तर्राष्ट्रिय अपातकाललाई ‘असाधारण घटना’ भनेर परिभाषित गरेको छ जसमा अन्य देशलाई पनि जोखिम रहेको र सङ्गठित अन्तर्राष्ट्रिय प्रतिक्रयाको आवश्यकता रहेको उल्लेख गरिएको छ ।
‘चीनमा जे भइरहेको छ त्यही कारणले मात्र यो घोषणा गरिएको होइन,’ डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेइससले भने, ‘अन्य देशमा के भइरहेको त्यसको लागि हो ।’ उनले कमजोर स्वास्थ्य प्रणाली भएको देशमा यो भाइरस फैलन सक्नेमा चिन्ता व्यक्त गरे । डब्लुएचओले अन्य १८ देशमा ९८ जनामा यो भाइरसको संक्रमण देखापरेको बताएको छ । यसमा धेरै जसो संक्रमित चिनियाँ सहर वुहानबाट यात्रा गरेको पाइएको छ ।
जर्मनी, जापान, भियतनाम र अमेरिकाका ८ जना बिरामीमा भने मानिसबाट मानिसमा सरेको पाइएको छ । डब्लुएचओ प्रमुखले कोरोनाभाइरसको संक्रमण रोक्नका लागि चिनियाँ सरकारले अपनाएको उपायहरुको पनि प्रशंसा गरे । डब्लुएचओले यसअघि पाँच पटक यस्तो आपतकालको घोषणा गरेको थियो । सन् २००९ मा स्वाइन फ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका र सन् २०१४ र १९ मा इबोला भाइरसको महामारी फैलिँदा यस्तो घोषणा गरिएको थियो ।