कोरोना ७६ देशमा : विश्व स्वास्थ्य संगठनद्वारा चिन्ता व्यक्त
काठमाडौं , २० फागुन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस सङ्क्रमणका कारण अहिले विश्व “अन्चार्टर्ड टेरटरी“ अर्थात् अनुमान गर्नै नसकिने ठाउँ बनेको भनेको छ ।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त भाइरस “अद्वितीय“ भएको तर उपयुक्त उपाय अवलम्बन गरेर त्यसलाई नियन्त्रण गर्न सकिने बताए ।
विश्वभरि कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या ३,००० नाघेको छ । तर केही सातायता चीनबाहेक अन्यत्र कोरोनाभाइरस संक्रमण नौगुना भएको छ । अमेरीका, साउदी अरेबिया , टयुनीशियामा नयाँ संक्रमण देखिए सगैं विश्वभर कोरोनाले महामारीको रुप लिएको छ ।
डा. गेहब्रेयससले जोड दिँदै उक्त भाइरसलाई परास्त गर्न सकिने बताए । रोग आफैँभन्दा पनि बिरामीलाई लाग्ने लाञ्छना र उनीहरूसँग गरिने व्यवहार धेरै डरलाग्दो भएको उनको टिप्पणी थियो । कोरोनाभाइरसका कारण चीनसहित ११ देशमा मृत्यु हुने मानिसको सङ्ख्या ३ हजारबढी भएको छ । कोरोनाभाइरसलाई विश्वव्यापी महामारी भन्ने वा नभन्ने बारे डब्ल्यूएचओले निरन्तर निगरानी गरिरहेको जनाएको छ । तथ्याकं अनुसार चीनमा यो भाईरस घट्दै गएको छ भने अन्य मुलुकमा रफ्तारमा विस्तार भईरहेको छ ।