कोरोनावाट २ लाख ८० हजारको मृत्यु , संक्रमितको संख्या ४० लाख नाघ्यो

काठमाडौं, २८ बैशाख । हालसम्म विश्वभर कोरोनाबाट २ लाख ८० हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने करिब ४१ लाख मानिस कोरोनाबाट संक्रमित भएका छन् । कोरोना संक्रमणको उपचारपछि १४ लाख भन्दा बढी मानिस घर फर्किएका छन् । सबैभन्दा बढी अमेरिकामा संक्रमित भएका छन् । १३ लाख भन्दा बढी संक्रमित हुँदा अमेरिकामा ८० हजार भन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र मृतकको संख्या १४ सय भन्दा बढी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
त्यसैगरी बेलायतमा ३१ हजार भन्दा बढीको मृत्यु भएको छ । गत २४ घण्टामा बेलायतमा ३ सय ५० जनाको मृत्यु भएको छ । इटालीमा हालसम्म ३० हजार भन्दा बढीको मृत्यु हुँदा स्पेनमा २६ हजार बढीको मृत्यु भएको छ । स्पेनलगायत केही देशमा मृतकको संख्या केही घट्दै गएको बताइएको छ ।
यता चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियामा कोरोनाको संक्रमण फैलनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले उत्तर कोरियालाई स्वास्थ्य सामग्री सहयोग गर्न चाहेको पनि बताएका छन् ।- एजेन्सी