कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ६ लाख नाघ्याे !

काठमाडाैँ । कोरोना भाइरस संक्रमणका कारण विश्वभरि ज्यान गुमाउनेकाे संख्या ६ लाख नाघेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । पछिल्लाे समय लगातार सबैभन्दा धेरै नयाँ सङ्क्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा फेला परिरहेकाे तथ्यांकहरूबाट पुष्टि हुन आएकाे छ । काेराेनाबाट ज्यान गुमाउनेहरूमध्ये एक चौथाइ संख्या अमेरिकामा मात्रै रहेकाे जनाइएकाे छ ।
विश्व स्वास्थ्य संगठनले भने पछिल्लाे एकैदिन (शनिबार) संसारभरि भाइरस संक्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ७ हजार ३६० रहेको जनाएकाे छ । याे गत मे १० तारिखयता भएको सबभन्दा धेरै दैनिक मृत्यु संख्या हाे । उता जोन्स हप्किन्स विश्वविद्यालयले शनिवार कुल सङ्क्रमितहरूको सङ्ख्या एक करोड ४० लाख नाघेको जनाएको छ । वर्ल्डाेमिटर्सले भने कुल संक्रमित संख्या (आइतबार बिहानसम्म) १ कराेड ४४ लाख नाघेकाे जनाएकाे छ ।
वर्ल्डाेमिटर्सका अनुसार अहिलेसम्म सबैभन्दा बढी संक्रमित र मृतक अमेरिकामा रहेका छन् । त्यहाँ अहिलेसम्म भाइरस संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १ लाख ४२ हजार ८७७ पुगेकाे छ भने कुल संक्रमित संख्या ३८ लाख ३३ हजार नाघेकाे छ । हाल त्यहाँ सक्रिय संक्रमित १९ लाख १५ हजार १७५ रहेका छन्, १७ लाख ७५ हजारभन्दा बढी चाहिँ निकाे भइसकेका छन् ।
यसैगरी दाेस्राे धेरै क्षति बेहाेर्नेमा ब्राजिल छ । त्यहाँ काेराेना भाइरसका कारण अहिलेसम्म ७८ हजार ८१७ जनाले ज्यान गुमाएका छन् भने कुल २० लाख ७५ हजार २४६ जना संक्रमित भइसकेका छन् । हाल त्यहाँ हाल त्यहाँ सक्रिय संक्रमित ६ लाख २९ हजार ६५४ रहेका छन् भने १३ लाख ६६ हजारभन्दा बढी मानिस निकाे भइसकेका छन् ।
उता, भारतमा पनि कुल संक्रमित संख्या पाैने ११ लाख पुग्दा ज्यान गुमाउनेकाे संख्या २६ हजार नाघेकाे छ । रूसमा भने संक्रमित धेरै भए पनि ज्यान गुमाउनेकाे संख्या कम छ । दक्षिण अफ्रिकामा पनि दैनिक वृद्धिमा नयाँ कीर्तिमान बनिहेको छ । त्यहाँ पछिल्लाे २४ घण्टामा १३ हजार २८५ संक्रमित भेटिएका छन् ।