अमेरिकन डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनले आसन्न राष्ट्रपति निर्वाचनको सम्मुखमा राष्ट्रपतिका उम्मेदवारलाई परिचय गराउनेदेखि पार्टीको रणनीति बनाउने बताइएको छ । कोरोना भाइरसको महामारीका कारण डेमोक्रेटहरुको सबैभन्दा ठूलो सम्मेलन यसपटक भौतिक रप्मा हुन सकेको छैन र पूर्ण रुपमा भर्च्युअल रुपमा हुँदैछ । चार दिनसम्म चल्ने सम्मेलनले आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट जो बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गर्ने छ ।
जो बाइडेनले उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिसलाई चयन गरिसक्नुभएको छ । यस सम्मेलनले बाइडेन र ह्यारिस दुबैलाई पार्टीको औपचारिक उम्मेदवार घोषणा गर्नुका साथै पार्टी रणनीतिबारे विस्तृत योजना पनि बनाउने छ । सम्मेलनमा डेमोक्रेट पार्टीका शीर्ष नेताहरुले सम्बोधन मात्र गर्ने छैनन्, जो बाइडेनको पक्षमा एकै आवाज बनाएर निर्वाचनमा होमिने रणनीति बनाइएको छ ।
यसका साथै सम्मेलनका केही रिपब्लिकन नेताहरुले पनि सम्बोधन गर्ने जनाइएको छ । नोभेम्बर ३ मा हुने निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र माइक पेन्ससँग प्रतिस्पर्धाका लागि जो बाइडेन र कमला ह्यारिसले पूर्ण तयारी गरेका छन् । कोभिड–१९ का कारण यस वर्ष धेरैले हुलाकमार्फत् मतदान गर्नुपर्ने देखिएको छ भने राष्ट्रपति ट्रम्पले त्यसको विरोध गर्दै आएका छन् ।-एजेन्सी