अमेरिकी प्रहरीद्वारा अश्वेत पुरूषमाथि ७ राउन्ड गोली प्रहार

२०७७ भाद्र ९ गते, मंगलवार

काठमाडौं । अमेरिकाको विस्कन्सिनमा प्रहरीले एक अश्वेत पुरूषमाथि ७ राउन्ड गोली प्रहार गरेको छ । एक अश्वेत पुरूषमाथि उनका तीन बच्चाकै सामुन्ने सात राउण्ड गोली हानेपछि क्रूद्ध बनेका सर्वसाधारण सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले गाडी लगायतमा आगजनी गरेका छन् भने प्रहरीसँग झडप भएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेका छन् भने सम्भावित हिंसालाई ध्यानमा राख्दै राज्यका गभर्नरले नेशनल गार्डलाई परिचालन गर्ने आदेश दिएका छन् ।
राज्यको केनोशा शहरमा २९ वर्षीय याकुब ब्लेकलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले आइतबार उनको ढाडमा ७ राउण्ड गोली प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । सार्वजनिक भएको भिडिओमा प्रहरीले घेराबन्दी गर्दागर्दै आफ्नो गाडीमा प्रवेश गर्न लागेका उनलाई लुगामा समातेर प्रहरीले लगातार पछाडीबाट गोली हानेको देखिन्छ । प्रहरीले गोली हान्दा उनका तीन सन्तान गाडीभित्र नै रहेका थिए । प्रहरीको ज्यादती सार्वजनिक हुनेबित्तिकै मानिसहरु प्रदर्शनमा उत्रेका हुन् । केही महिना अघि पनि अमेरिकाको मिनियापोलिसमा एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरीले घुँडाले थिचेर हत्या गरेका थिए । त्यसपछि अमेरिकाभर व्यापक प्रदर्शन गरिएका थिए । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु