अमेरिकामा कोरोनाको अर्को लहर फैलने चेतावनी

२०७७ मंसिर २३ गते, मंगलवार


काठमाडाैं । अमेरिकाका प्रमुख संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोरोना भाइरस संक्रमणका घटनाहरूको अर्को लहर फैलने चेतावनी दिएका छन् । उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौती बन्न सक्ने बताएका हुन् । अहिले पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेका संक्रमण ठूलो समस्या बनिरहेको उनको भनाइ छ । जनवरीको मध्यतिरको अवस्था अमेरिकाको लागि निकै भयानक समय हुनसक्ने भन्दै फाउचीले चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकाको खाद्य तथा औषधि निकाय एफडीएका पूर्वआयुक्त स्कट गोटलिबले अमेरिकामा जनवरीको अन्त्यसम्ममा मृत्यु हुनेको संख्या चार लाख पुग्ने बताएका छन् । अमेरिकामा औसतमा दैनिक दुई लाखमा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालहरू बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले जनस्वास्थ्य संकटको चेतावनी दिएका छन । क्यालिफोर्नियामा कडा लकडाउन लागू गरिएको छ । अन्य राज्यहरूमा समेत अहिलेसम्मकै उच्च संक्रमण देखिएको छ । अहिलेसम्म अमेरिकामा १ करोड ४७ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । २ लाख ८२ हजार पाँच सयको मृत्यु भैसकेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]