जर्मनीमा जनवरी १० सम्म लकडाउन

काठमाडौँ । जर्मनीले कोरोना भाइरस संक्रमण बढ्न थालेपछि जनवरी दशसम्म लकडाउन घोषणा गरेको छ । बुधबारदेखि अत्यावश्यक बाहेकका पसल तथा स्कुल कलेज बन्द गरिने जर्मन सरकारले जनाएको छ । लकडाउनको समयमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा हुनेछन् । क्रिसमसको ट्रि बेच्ने पसललाई भने खोल्न दिइने भएको छ । संक्रमण र मृत्युदर दुबै बढेकाले क्रिसमस र नयाँबर्षको समयमै पनि लकडाउन गर्नुपरेको जर्मन चान्सलर एञ्जेला मर्केलले बताएकी छिन् । मर्केलले १६ राज्यमा अधिकारीहरुसँग छलफलपछि लकडाउनको घोषणा गरेकी हुन् ।
जर्मनीमा हालसम्म १३ लाख ३८ भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । २२ हजारभन्दा बढीको ज्यान गएको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार निको भएका छन् । – एजेन्सी