फ्रान्समा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस !

२०७७ पुष ११ गते, शनिबार


काठमण्डौं । फ्रान्समा रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । नयाँ प्रकारको भाइरस यसअघिको भन्दा संक्रामक रहेको विज्ञहरुले बताएका छन् । डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्स पुगेका पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी टोर्स शहरका बासिन्दा रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित व्यक्ति अहिले सेल्फ आइसोलेशनमा रहेका छन् ।
डिसेम्बर २१ मा परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण देखिएको हो । फ्रान्समा यो भाइरस थप फैलिएको हुनसक्ने अनुमान गरिएको छ । बेलायतमा रुपान्तरित कोरोना भाइरसको संक्रमण देखिएपछि विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका छन् । कोरोना भाइरसको रुपान्तरित स्वरुपको संक्रमण पहिलोपटक गएको सेप्टेम्बरमा बेलायतमा पुष्टि भएको थियो । त्यसकै कारण पछिल्ला दिनहरुमा संक्रमण तीव्र भएको ठानिएको छ ।
नयाँ स्वरुपको भाइरसको संक्रमण भएका व्यक्ति दक्षिण अफ्रिकामा पनि भेटिएका छन् । यो भाइरस बढी संक्रामक भएको पाइए पनि बढी घातक भने नभएको वैज्ञानिकहरुले बताएका छन् । यसबारे थप अनुसन्धान आवश्यक रहेको उनीहरुको भनाइ छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]