तालिबानद्वारा राष्ट्रपति भवन कब्जा :युद्ध समाप्त भएको घोषणा

२०७८ श्रावण ३२ गते, सोमबार

काठमाडौं । तालिवानले अफगानिस्तामा राष्ट्रपति कार्यालय कब्जा गरेपछि देशमा युद्ध समाप्त भएको घोषणा गरेको छ । प्रान्तीय राजधानीहरु नियन्त्रणमा लिंदै आइतबार राती राष्ट्रपनि भवन प्रवेश गर्ेका तालिवान नेताहरुले आफूहरुले युद्ध जितेको र अब अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेका हुन । अल जजिरा टेलिभिजनसँग कुरा गर्दै अफगानिस्तानका जनताको मुक्ति आन्दोलन सफल भएको र आफूहरुले चाहेको जित पनि हासिल भएको तालिवान नेताले बताएका हुन । विदेशी शक्तिहरूलाई अफगानिस्तानमा फेरि हस्तक्षेप गरेर असफल हुने प्रयास नगर्न पनि चेतावनी दिइएको छ । तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार अपरान्ह देश छाडेका थिए । घानी काजकिस्तान गएको बताइए पनि उनी उज्वेकिस्तान पुगेको विवरण अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दिएका छन् । यसैबीच, राजधानी काबुलमा तालिबानको पूर्ण पकड भएपछि अमेरिकाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट आफ्नो अस्थायी दूतवास चलाएको छ ।
दूतावासका कर्मचारीलाई हेलिकप्टरबाट विमानस्थल पुर्याएर त्यहीं अमेरिकी झण्डा राखेर काम गरिएको जनाइएको छ । केही हजार अमेरिकी सेना पनि विमानस्थलमै रहेकाले काबुल विमानस्थल अझैसम्म अमेरिकाको नियन्त्रणमै रहेको अनुमान गरिएको छ ।
यसैबीच , अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै एकखाले आतंकको अवस्था सृजना भएको छ । तालिबानको त्रासमा परेर ज्यान जोगाउन भाग्न चाहनेहरुको भीडले अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ । विमानस्थल पूरै अमेरिकी र नेटो सैनिकको नियन्त्रणमा छ ।मुलुकको नेतृत्व गरिरहेका राष्ट्रपति असरफ घानी नै देश छाडेर भागेपछि सर्वसाधारणमा आतंकको अवस्था सृजना भएको हो । देश छाडेर भागेका घानीले राजधानी काबुलमा रक्तपातपूर्ण अवस्था नआओस् भनेर आफूले मुलुक छाड्ने निर्णय गरेको सफाई दिएका छन् । उनले आफू राष्ट्रपति भवनमै रहिरहँदा धेरै मानिसको ज्यान जानसक्ने अवस्था भएकाले शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण होस् भन्ने चाहेर पलायनको निर्णय लिएको तर्क गरेका छन् ।
त्यहीँ, पूर्वराष्ट्रपति हमिद कारजाईले भने आफूले देश नछाड्ने प्रतिवद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले आफू राजधानी काबुलमै रहने प्रष्ट गरेका छन् । आफ्ना तीन छोरीका साथ देखिएका कारजाईले भनेका छन्, उनको परिवार ‘प्यारा काबुलवासी’का साथ छन् । मुलुक र देशवासीको रक्षाको जिम्मेवारी तालिबानको काँधमा आएकाले त्यसलाई होशियारीपूर्वक निभाउन कारजाईले भनेका छन् । उनले तालिबान र सरकारी सुरक्षाकर्मीहरुलाई नागरिकको जीउधनको सुरक्षाका लागि अपील पनि गरेका छन् ।
अमेरिकी सैन्य हस्तक्षेपपछि सन् २००१ मा देशको राष्ट्रपति बनेका कारजाई सन् २०१४ सम्म अफगानिस्तानको राष्ट्रपनि बनेका थिए । उनी एशियामै सबैभन्दा बढी समय शीर्ष पदमा रहने नेता समेत बनेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]