तालिबानका सर्वोच्च नेता सरकारमा नजाने

काठमाडौं। तालिबान संगठनका सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह अखुंदजादाले अफगानिस्तानको नयाँ सरकारको नेतृत्व नगर्ने भएका छन् । तालिबानले आज शुक्रबार आफ्नो नयाँ सरकार बनाउँदैछ । नयाँ सरकारका तालिबानका संस्थापक तथा अहिलेका उपनेता मुल्ला अब्दुल गनी बरादरलाई सरकार प्रमुख बनाइनेछ । समाचार एजेन्सी रोयटर्सले तालिबान सूत्रको हवाला दिँदै मुल्ला बरादर सरकार प्रमुख बन्न लागेको बताएको छ । रोयटर्सले तालिबान सूत्रको हवाला दिँदै तालिबानले शुक्रबार आफ्नो नयाँ सरकार गठन गर्ने बताएको छ । रिपोर्टअनुसार मुल्ला बरादरले सरकारको नेतृत्व गर्नेछन् । तालिबानका संस्थापक प्रमुख मुल्ला उमरका छोरा मुल्ला मोहम्मद याकुब र शेर मोहम्मद अब्बास स्टानिकजाइ पनि तालिबानको यो सरकारमा महत्वपूर्ण पदमा हुनेछन् ।
तालिबान सरकारका प्रमुख बन्न लागेका मुल्ला अब्दुल गनी बरादर १९६८ मा जन्मिएका हुन् । उनी तालिबान संगठनमा दोस्रो बरियताका नेता हुन् । मुल्ला बरादर तालिबानको स्थापना गर्ने ४ नेताहरुमध्ये एक हुन् । १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको सरकार हुँदा मुल्ला बरादरले महत्वपूर्ण भूमिका निभाएका थिए ।
२००१ मा अमेरिकाले तालिबानलाई सत्ताबाट हटाएपछि मुल्ला बरादर पाकिस्तान गएर बसेका थिए । २०१० मा पाकिस्तानमा मुल्ला बरादरलाई पक्राउ गरेर जेलमा हालियो किनकि उनी पाकिस्तानमा रहेर पाकिस्तान सरकारलाई जानकारी नदिइ अफगानिस्तान सरकारसँग कुरा गर्ने कोसिस गरिरहेका थिए । २०१८ मा अमेरिकाले तालिबानसँग वार्ता गर्ने वातावरण बनाउनका लागि मुल्ला बरादरलाई रिहा गरियो । त्यसपछि उनी कतारको दोहामा तालिबानको राजनैतिक विभागको प्रमुखको रुपमा रहे । उनले अमेरिकासँग वार्तामा पनि महत्वपूर्ण भूमिका निभाएका थिए । अब मुल्ला बरादर अफगानिस्तान सरकारको प्रमुख हुने बताइएको छ ।