तालिबानमाथि आक्रमण !

काठमाडौं। तालिबानले अफगानिस्तानको पंजशीर प्रान्तमा आफ्नो पूर्ण नियन्त्रण कायम भएको दावी गरेको भोलिपल्ट अज्ञात सैन्य विमानहरुले पंजशीर उपत्यकामा तालिबानका अड्डाहरुमा आक्रमण गरेका छन् । स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै इण्डिया टुडेले जनाएअनुसार यी सैन्य विमान कसका हुन् भन्ने खुल्न सकेको छैन । सोमबार तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा आउन बाँकी एक मात्र क्षेत्र पंजशीर पनि आफ्नो कब्जामा आएको दावी गरेको थियो । अफगानिस्तानमा तालिबानविरोधी रेसिस्टेन्स फोर्सको अखडा मानिएको पंजशीर पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको तालिबानले बताएको थियो । ट्वीटरमा पंजशीरको गभर्नर कार्यालयमा हतियारधानी तालिबान लडाकुहरुले आफ्नो झण्डा फहराउँदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।
नेशनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तानका प्रमुख अहमद मसुदले भने तालिबानले पंजशीर कब्जा गरेको दावीलाई अस्वीकार गरेका छन् । उनले तालिबानसँग लडिरहेको रेसिस्टेन्स फोर्स अजेय भएको र आफूहरु रगतको अन्तिम थोपा रहँदारम्म लडिरहने बताएका थिए । – एजेन्सी