ताइवानी राष्ट्रपतिद्वारा आफ्नो भूमिमा अमेरिकी सेना रहेको पुष्टि

२०७८ कार्तिक ११ गते, बिहीबार


काठमाडौं । ताइवानी राष्ट्रपति साइ यिङ यिङ वेनले मंगलबार सीएनएनसँगको विशेष अन्तर्वार्तामा बोल्दै बेइजिङबाट हरेक दिन खतरा बढिरहेको बताएकी छन् । राष्ट्रपति वेनले पहिलो पटक ताइवानी भूमिमा अमेरिकी सेनाको उपस्थिति रहेको पुष्टिसमेत गरेकी छन् । तर आफ्नो भूमिमा के-कति अमेरिकी सेना रहेको भनेर प्रस्ट पारिनन् ।
अन्तर्वार्ताका क्रममा वेनले ताइवान लोकतन्त्रको स्तम्भ भएको समेत बताएकी छन् । चीनले ताइवानलाई कब्जा गरे लोकतन्त्र हार्ने र विश्वभर लोकतान्त्रिक मूल्य-मान्यताप्रतिको विश्वास जगाइराख्न ताइवानको रक्षा आवश्यक भएको उनको भनाइ थियो ।
ताइवानको सुरक्षा र लोकतन्त्रका लागि आफूहरूले निकै प्रयास गरिरहेको पनि वेनले बताइन् । ‘ताइवानका दुई करोड ३० लाख मानिसले आफ्नो र लोकतन्त्रको रक्षाका लागि हरेक निकै प्रयास गरिरहेका छन्’, उनले भनिन् ।
पछिल्लो समय चीन र ताइवानबीचको तनाव उत्कर्षमा पुगेको छ । यसै महिनाको सुरुमा चीनले ताइवानी आकाशमा हालसम्मकै धेरै लडाकु विमान उडाएको थियो । चीनसँग जारी तनावबीच संयुक्त राष्ट्रसंघमा अर्थपूर्ण भूमिकाका लागि ताइवानले लबिङ गरिरहेको छ । अमेरिकाले समेत राष्ट्रसंघमा ताइवानको ‘अर्थपूर्ण सहभागिता’प्रति आफ्‍नो समर्थन हुने जनाएको छ । तर चीनले भने ताइवानसँग राष्ट्रसंघमा आबद्ध हुने कुनै अधिकार नरहेको बताएको छ ।
सन् १९७१ अक्टोबर २५ सम्म ताइवान भिटोसहित राष्ट्रसंघको सदस्य थियो । त्यसपछि भने उक्त सिट चीनलाई प्रदान गरियो । त्यसयता ताइवानले राष्ट्रसंघ र यसअन्तर्गतका संगठनमा थप सहभागिता जनाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]