जापानको संसदीय निर्वाचनमा एलडिपीलाई बहुमत

काठमाडौं । जापानमा भएको संसदीय निर्वाचनमा लिबरल डेमोक्रेटिक पार्टी ‘एलडिपी’ एक्लैले बहुमत ल्याउने देखिएको छ । आइतबार जापानको तल्लो सदनको ४ सय ६५ सिटका लागि भएको मतदानमा एलडिपीले २ सय ३३ भन्दा बढी सिटमा आफ्नो जित सुनिश्चित गरेको हो । ४ सय ६५ मध्ये २ सय ८९ सिटमा प्रत्यक्ष निर्वाचन हुन्छ भने बाँकी १ सय ७६ सांसद समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित हुने गर्दछन । एक महिनाअघि मात्र सत्तामा आएका जापानी प्रधानमन्त्री फुमियो किसिदाका लागि संसदीय निर्वाचन फलदायी साबित भएको हो । प्रारम्भिक मत परिणामले प्रधानमन्त्री किसिदा गठबन्धन दलको सहयोगबिना नयाँ सरकार बनाउन सक्ने देखाएको हो । यसै महिना लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा विजयी भएपछि ६४ वर्षीय किसिदा जापानका प्रधानमन्त्री नियुक्त भएका थिए । लगत्तै उनले मध्याबधि निर्वाचन घोषणा गरेका थिए । किसिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारी अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने घोषणा गरेका छन् । – एजेन्सी