किम जोङ उनद्वारा ‘किमजेओन्गुनिज्म’ विचारधाराको प्रवर्द्धन गर्न आदेश

काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङ उनले ‘किमजेओन्गुनिज्म’ विचारधाराको प्रवर्द्धन गर्न आदेश दिएका छन्। उनले सरकारी भवनबाट आफ्ना बुबा किम जोङ–इल र हजुरबुवा किम इल–सङका तस्वीरहरू पनि हटाएका छन्। दक्षिण कोरियाको खुफिया एजेन्सीलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उत्तर कोरियाको सरकारी सञ्चारमाध्यममा किमलाई ‘महान् नेता’ भनेर वर्णन गरिँदै आएको बताएका छन्। किम जोङ-उनका हजुरबुवा, किम इल-सुङका लागि यो शीर्षक राखिएको थियो।
किम जोङ उनले सन् २०११ मा सत्ता हात पारेका थिए। त्यसयता किमले जुन प्रकारका कदम चालेका छन्, त्यसबाट उनी आफ्ना पिताको सम्झनालाई जोगाउन नचाहेको देखिन्छ। उनले चालेका कदमलाई हेर्ने हो भने यसको पुष्टि हुन्छ। किमले यस वर्षको सुरुमा आफूलाई महासचिवको रूपमा नियुक्त गरे, जुन पद उनका मृतक पिताका लागि आरक्षित थियो।
सन् १९९० को दशकमा किम जोङ इलले नयाँ उपाधिहरू प्राप्त गर्नुअघि आफ्ना बुवाको शोकमा तीन वर्ष बिताए। जहाँ किम जोङ उनले आफ्ना पिता किम जोङ इलको मृत्यु भएको दुई हप्ता पनि कुरेनन्। डिसेम्बर २०११ मा उनले आफूलाई सर्वोच्च कमाण्डरको रूपमा नियुक्त गरेका थिए।
सन् १९७० को दशकमा किमका हजुरबुवाका लागि ‘किमिल्सुङ्गिज्म’ शब्द प्रयोग गरिएको थियो। १९८० को प्रारम्भमा ‘किमिल्सुङ्गिज्म-किमजोङ्गिलवाद’ शब्द आएको थियो। यो समय थियो जब किम इल सुङले आफ्ना छोरा किम जोङ इललाई आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गर्ने निर्णय गरे। सन् १९९४ मा किम इल सुङको मृत्युपछि ‘किमजोङ्गिलिज्म’ शब्दको प्रयोग हुन थालेको हो। – एजेन्सी