बेलारुसद्वारा युरोपको ग्यास आपूर्ति रोकिदिने चेतावनी

काठमाडौँ । बेलारुसका राष्ट्रपतिले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्धहरू लगाइएमा युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिएका छन् । बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली संघ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन् । ईयू अधिकारीहरूले बेलारुसलाई उक्त सङ्कटलाई उचालेर सुरक्षा अवस्था बिगारेको आरोप लगाएका छन् । मिन्स्कले त्यसलाई अस्वीकार गर्दै आएको छ । जसविरूद्ध ईयूले नयाँ प्रतिबन्धहरूको तयारी गरिरहेको खबरहरू सार्वजनिक भइरहेका छन् । बेलारुसमा लामो समयदेखि सत्तामा रहेका नेता एलेक्जेन्डर लुकासेन्कोले एउटा चेतावनी दिँदै प्रतिबन्ध लगाइएमा आफूहरूले जवाफ दिनुपर्ने बताएका छन् ।
बेलारुस हुँदै ईयू जाने रुसी ग्यास पाइपलाइनलाई सङ्केत गर्दै उनले भने, ‘हामीले उनीहरूलाई न्यानो पारिरहेका छौँ र उनीहरूले हामीलाई धम्क्याइरहेका छन् ।’ उनको थप भनाइ थियो, ‘हामीले ग्यास आपूर्ति रोकिदियौँ भने के होला ? त्यसैले पोल्याण्ड, लिथुआनिआका नेतृत्व र अन्य खाली हात बसेका मानिसहरूलाई बोल्नुअघि सोच्न म सुझाव दिन्छु ।’ लुकासेन्कोको अभिव्यक्तिले युरोपमा अहिले नै अभाव र उच्च मूल्यमा रहेको ग्यासलाई लिएर नयाँ चिन्ता उत्पन्न भएको छ । – बीबीसी