हेइटीका कार्यबाहक राष्ट्रपतिको हत्या प्रयास

२०७८ पुष २० गते, मंगलवार

काठमाडौं । हेइटीका कार्यबाहक राष्ट्रपति एरियल हेनरीको गोली हानी हत्या प्रयास भएको छ । गत शनिबार राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यबाहक राष्ट्रपति हेनरीको हत्या प्रयास भएको खुलासा भएको हो । उत्तरी शहर गोनाइवेसस्थित एक चर्चमा भएको कार्यक्रममा सहभागी भएका हेनरीमाथि आपराधिक समूहले गोली प्रहार गरेका हुन् । हेनरी र उनका अंगरक्षकहरु भाग्दै गाडीतर्फ दौडिएको भिडियो सार्वजनिक भएको छ । घटनामा सुरक्षाकर्मीहरुले चलाएको गोली लागेर १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।
गत जुलाई ७ मा हेइटीका राष्ट्रपति जोबेनल मोइजको आफ्नै निवासमा हत्या भएको थियो । मोइजको सरकारमा प्रधानमन्त्री रहेका हेनरी मोइजको हत्यापछि कार्यबाहक राष्ट्रपति बनेका हुन् । मोइजको हत्या गर्ने आपराधिक समूहले नै हेनरीको पनि हत्या प्रयास गरेको विश्वास गरिएको छ । तर घटनाको जिम्मेवारी भने अहिलेसम्म कसैले लिएको छैन् ।
कार्यबाहक राष्ट्रपति हेनरीले आपराधिक समूहलाई निमिट्यान्न पार्ने प्रतिवद्धता जनाउँदै आएका छन् । घटना सार्वजनिक भएपछि कार्यबाहक राष्ट्रपतिको कार्यालयले पनि आतंकवादी समूहले हत्या प्रयास गरेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]